साहित्यपोस्टमा मिति २०८० पुष २९ मा प्रकाशित [Click to view original post]
सम्झनामा भगवान् दाइ !
आउनु भो तपाईं कहाँबाट, त्यो कसैलाई भन्नु भएन
जानु भो तपाईं कता कता, त्यो पनि कसैलाई भन्नु भएन
तर यस जगतमा आएर त्यो कस्तो खेल रचाउनु भो
सम्झी सम्झी तपाईंलाई धुरुधुरु रुने बनाएर जानु भो…!
मानव जीवनको अन्तिम प्रस्थान बिन्दु हो “मृत्यु” । जो सत्य छ, शाश्वत छ अनि अपरिहार्य छ । मृत्युको कुनै निश्चित अवधि, सीमा र आयु पनि हुँदैन । मानव जीवनले नचाहेको, नसोचेको र नखोजेको पनि यही मृत्यु नै हो ।
हिन्दु धर्मले मृत्युको बारेमा भनेको छ– “ जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च : अर्थात् सबै जन्मेकाको मृत्यु र मरेकाको जन्म निश्चित छ ।”
गीतामा मृत्युको बारेमा लेखेको छ – “वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि” अर्थात् शरीर परिवर्तनलाई पुराना पात झरेर नयाँ आउन पर्खे झैं अथवा अझ पुराना बस्त्र बदलेर नया घारण गरे झैं भनेको छ ।”
बौद्ध धर्मले मृत्युको बारेमा भनेको छ – “मृत्यु जीवनको अन्त्य होइन, यो त केवल यो जीवनमा बास बस्ने त्यो शरीरको मात्र अन्त्य भएको हो ।”
संसारमा विभिन्न धर्मले मृत्युको बारेमा आआफ्नो दृष्टिकोण राखेता पनि स्रष्टा र विचारकहरूले मृत्युलाई अगम्य, उच्च, हितकर र अन्तिम गन्तव्य ठानेका छन् ।
विश्वविख्यात साहित्यकार विलियम शेक्सपियरले ‘एज यु लाइक इट’ नाटकमा लेखेका छन् – “यो संसार एक रङ्गमञ्च हो । अनि सारा नर नारी केवल एक अभिनेता । तिनीहरूको प्रवेश हुन्छ र बहिर्गमन हुन्छ । प्रत्येकको आआफ्नो भूमिका हुन्छ । कसैको छोटो कसैको लामो हुन्छ ।”
बस यही नै मृत्यु हो ।
यही सांसारिक नियमलाई पालना गर्दै अब भगवान् दाइ हाम्रो सम्झनामा मात्र रहनु भयो । म्याङ्लुङ बजार, तेह्रथुममा जन्मनु भएको उहाँ लामो अस्वस्थताको बीच हामीलाई ७६ वर्षको उमेरमा छाडेर जानुभयो ।
भगवान् दाइसँग लेखक
भगवान्मान श्रेष्ठ दाइ नाताले मेरा माइला बुबाको जेठा छोरा । हजुरबुबा लोकमान श्रेष्ठ र हजुरआमा अक्षय कुमारी श्रेष्ठको सात भाइ छोरा र एक छोरी मध्ये भगवान् दाइको बुबा हाम्रो माइला बुबा स्व. चन्द्रमान श्रेष्ठ । म्याङ्लुङ बजार, तेह्रथुमको आधुनिकीकरण गरी बजार व्यवस्थापन गर्ने कार्यमा हाम्रो हजुरबुबा र हजुरआमाको ठुलो देन छ । माइला बुबाको करिब पचास वर्षको उमेरमै असामयिक निधन भयो । भगवान् दाइ जेठा छोरा भएको कारणले दुई नाबालिग भाइहरू जगन्नाथ र विश्वबिमोहनलाई हुर्काउन, बढाउन, पढाउन र आमालाई हर तरह सहयोग गर्न व्यस्त रहनुभयो । आफ्नो कलिलै उमेरमा व्यवहारले थिचिनु भएको थियो भगवान् दाइ ।
भगवान् दाइ प्रसिद्ध तथा लोकप्रिय कवि विश्वबिमोहन श्रेष्ठको ठुलो दाइ ।
म्याङ्लुङ बजारको तल्लो टोल अवस्थित हाम्रो मूल घरसँगै टाँसिएको दायाँ पट्टिको घर भगवान् दाइको घर । बायाँ पट्टि स्टुडेन्ट सप रहेको साहिँला बुबाको घर । त्यसैले भगवान् दाइ सँगको सान्निध्य मैले बच्चैदेखि भोग्दै आएको ।
दाइ सानैदेखि जिज्ञासु स्वभावको । हरेक कुरामा ठुलो दिलचस्पी लिने गरेको । प्रत्येक समस्याको समाधानका उपाय बारेमा तर्क वितर्क गर्ने गरेको । तत्कालीन बजारभित्र निर्माणाधीन कुलोको, खाने पानीको, महेन्द्र पार्क, अनि टुँडिखेल विस्तारका यावत कुरामा गहन छलफल भएका कुरा हामी बुबा र दाइको वरिपरि बसेर मज्जाले सुनिरहन्थ्यौं । साहिँला बुबाको घरमा रहेको र जयश्वरमान दाइले सञ्चालन गर्नुभएको ‘स्टुडेन्ट सप’मा आउने देशी विदेशी सबै खालको पत्र–पत्रिकाको अध्ययन गरेर तार्किक छलफल गर्न सक्ने क्षमता भगवान् दाइमा थियो ।
यी माथिका कुराहरू मैले बुबासँग भएको कुराकानीको आधारमा भनेको हुँ । मेरो बुबा २००४ सालमा स्थापित श्री सिंह बाहिनी हाई स्कुलको संस्थापक हेडमास्टर र सामाजिक अभियन्ता । बिहान बेलुकी बुबाको फुर्सतको समयमा घरमा बुबासँग गफ गर्ने धेरै जम्मा हुने गर्थे । भगवान् दाइ प्राय सधैँ जसो छलफलमा सक्रियता जनाउनु हुन्थ्यो । देश विदेशका विभिन्न विषयमा गहन कुरा हुने गर्थ्यो । बजार भित्रैका सामाजिक कार्यहरूको बारेमा । विभिन्न सामाजिक कार्यहरूको हुनु पर्ने र गरिनु पर्ने कार्यको जिज्ञासा आदि बारेमा छलफल हुने गर्थे ।
हामी तर्क गर्ने क्षमतामा पुगिनसकेको अवस्थाको कुरा हो यो । तर विषयवस्तुको बारेमा ख्याल रहन्थ्यो ।
विसं २०२२ सालतिर भगवान् दाइ, विश्वेश्वर दाइ, डा. रामेश्वर दाइ र अरू मिलेर “बिरुवा” हस्तलिखित साहित्यिक पत्रिका प्रकाशन गर्नुभयो ।
तेह्रथुममा हस्तलिखित पत्रिकाको सुरुवात विसं २००४ सालमा स्थापित श्री सिंह बाहिनी हाई स्कुलबाट शुरु भएको थियो । विसं २००८ सालमा बुबा नारायणमान श्रेष्ठ लगायत स्कुलका शिक्षकहरू मिलेर “मगज” हस्तलिखित पत्रिका प्रकाशित गर्नुभयो । साहित्यिक रचना र सिर्जनाका विभिन्न लेखहरूको सँगालो “मगज” पत्रिका विसं २०१६ साल सम्म नियमित हस्तलिखित प्रकाशन भै नै रह्यो । भगवान् दाइको सक्रियता हरेक क्षेत्रमा रहेको थियो । सभा, सम्मेलन र कुनै कार्यक्रम संचालन गर्ने जिम्मा दाइ कै हुने गर्दथ्यो । साहित्य सिर्जनामा साथै पत्रकारितामा पनि सक्रियताका साथ लाग्नुभयो ।
लेखककाे साथमा भगवान् दाइको परिवार
रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको तेह्रथुम जिल्लाकै पहिलो सम्वाददाता भएर करिब पाँच दशकसम्म निरन्तर सेवा गरिरहनु भयो । काठमाडौंबाट प्रकाशित “अर्पण” साप्ताहिक पत्रिकाको सम्वाददाता पनि लामो समयसम्म बन्नुभयो ।
“झिगु परोपकारी समाज” तेह्रथुमको संस्थापक अध्यक्ष भएर नेपाल भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासको लागि हर तरहबाट लागिरहनु भयो ।
तेह्रथुम, म्याङ्लुङ बजारबाटै आफ्नै सम्पादनमा “नौलो सन्दर्भ” साप्ताहिक पत्रिका करिब दुई दशकसम्म प्रकाशन गरिरहनु भयो ।
उहाँले आफ्नै पहलमा राष्ट्रिय समाचार समितिको नाममा म्याङ्लुङ बजारको बस पार्क नजिकै करिब एक रोपनी जग्गा पत्रकारिता विकासको लागि आफ्नै भवन निर्माणको लागि सहयोग जुटाउनु भएको थियो ।
उहाँ आदर्श विचार राख्नु हुने स्वावलम्बी व्यक्तित्वका धनी हुनुहुन्थ्यो । मिलनसार र सहयोगी भावना जीवनको लक्ष्य सम्झिनुहुन्थ्यो उहाँले । पारिवारिक दायित्व र अहम् भूमिकामा निरन्तर कर्तव्यबोध गरिरहनु भयो । सरल, सहज र मृदुभाषी व्यक्तित्वका धनी उहाँ सार्थक जीवन व्यतीत गर्नुभयो ।
पत्रकार निष्पक्ष, निर्भीक र सत्यवादी हुनु पर्नेमा दाइ सधैँ जोड दिने गर्नुहुन्थ्यो । वर्तमानमा हरेक क्षेत्रमा दलिय भागबन्डा भएको, निष्पक्षता नभएको जनताको पक्षमा ध्यान नदिएको कुरामा अति नै मन दुखाउने गर्नुहुन्थ्यो ।
जीवन भौतिक गुणले सम्पन्न क्षयशील पदार्थ हो । नाशवान् / क्षयशील भएकै कारणले यसको महत्त्व छ । त्यसैले प्राप्त भएको अमूल्य जीवनलाई हर कोणबाट सार्थक, उद्देश्यमूलक र सामाजिक हितको लागि खर्चन सक्नु नै हाम्रो जीवनको मूल उद्देश्य हो र हुनु पर्छ ।
उहाँको जीवनले हामीलाई दिनु भएको यही शिक्षा नै जीवनको सार तत्त्व हो ।
भगवान् दाइप्रति हार्दिक श्रद्धा सुमन ..!
भर्जिनिया, अमेरिका